कोभिडको असर : रामपुरमा वडागत साढे चार करोड वजेटको काम प्रभावित

0
785

सुशीला रेग्मी
भदौ २९,२०७७ पाल्पा : विश्वभर नै माहामारीको रुप लिएको कोरोना भाइरस सङ्क्रमणले विभिन्न क्षेत्रलाई अस्तव्यस्त बनाएको छ ।
कोरोनाको जोखिमका कारण विभिन्न साना ठुला आयोजना तथा कार्यक्रमलाई नराम्रो संग असर पु¥याएको छ ।
कोरोनाको बढ्दो जोखिम परिस्थितीले रामपुर नगरपालिकाका विभिन्न आयोजना तथा कार्यक्रमहरु प्रभावित हुन पुगेका छन् । नगरका सडक, सिंचाई, महिला सामुदायिक भवन, खानेपानी, शिक्षा लगायतका क्षेत्रका कामहरु संचालन गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

दशवटै वडाका वडागत तथा नगरका गौरवका आयोजना तथा कार्यक्रमहरु कोरोनाको जोखिम परिस्थितीका कारण संचालन हुन सकेन । वडा नं १ मा ३४ लाख पाँच हजार, २ मा ४१ लाख ३० हजार, ३ मा ३७ लाख ४० हजार, ४ मा ५० लाख ३४ हजार, ५ मा एक करोड २४ लाख २५ हजार बराबर वजेटको काम हुन सकेन ।

त्यस्तै वडा नं ६ मा ९३ लाख २९ हजार, ७ मा २४ लाख, ८ मा १५ लाख ७५ हजार, ९ मा ३३ लाख ५३ हजार ६ सय ४० र १० मा १७ लाख ५५ हजार गरी जम्मा रु चार करोड ७५ लाख ४६ हजार ६ सय ४० बराबरको रकमका विभिन्न आयोजना तथा कार्यक्रम गर्न नसकिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले जानकारी दिए ।

रामपुर नगरपालिकाका दुई वटा नगर गौरवका आयोजनाहरु गतवर्ष सुरु नै गर्न सकिएन । एक करोडको रातमाटा खालिवन जब्गादी सडक र एक करोड २० लाखको वजेटको आर्मीक्याम्प डल्ले चौतारी सडक स्तरोन्नती गर्ने ठुला आयोजना कोभिडको असरले संचालन हुन सकेन । सो आयोजना प्रदेश सरकार र रामपुर नगरपालिकाको ५०÷५० प्रतिशत वजेटमा गरिने भएपनि कोभिडको असरले आयोजना संचालन गर्न सकिएन ।

“कोरोनाको माहामारीले गतवर्ष गर्न नसकिएका आयोजना तथा कार्यक्रमलाई यस आर्थिक वर्षमा पहिलो प्राथमिकता दिएर संचालन गर्ने तयारी गरेका छौँ, कोभिडका बाबजुद पनि बन्दाबन्दीको समयमा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरी दुरी कायम गरेर केही महत्वपूर्ण आयोजना पनि सम्पन्न गर्न सफल भएका छौँ” प्रमुख प्रशासकिय अधिकृत आचार्यले भने ।

क्वाङ्गक्वाङ्ग र गैलुक डाब्रा लिफ्टिङ्ग खानेपानी आयोजना, रामपुर नगरपालिकाका वडा नं २ मा आधारभुत स्वास्थ्य केन्द्र, वडा नं ४, ६, ७ र ९ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण कार्य सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत आचार्यले जानकारी दिए ।

विकासे आयोजना प्रभावित हुन पुग्दा विकासका काममा सुस्तता छाएको छ । ठुला ठुला विकासका आयोजना गाउँमा संचालन हुदा धेरैलाई रोजगार गर्ने अवसर बनेको थियो ।
विकास निर्माणका काममा कोरोनाको कहरले समयमा सम्पन्न हुन नसक्नु, कतै आयोजना सुरुवात नै नहुदा विकासका कार्यमा अन्यौलता छाएको छ । अन्य स्थानीय तहका पनि विभिन्न आयोजना तथा कार्यक्रमहरु प्रभावित बनेका छन् ।

SHARE