बादल घिमिरेको बैगुनी भाग—२ ‘शीतल छायाँलाई’ बजारमा आउँदै

0
563

सुशीला रेग्मी
भदौ ११,२०७७ पाल्पा :
पछिल्लो समय बजारमा आएको बैगुनी गीतले निकै चर्चा कमाएको छ । धेरै दर्शक श्रोताको मन मुटुमा बस्न सफल बैगुनी बनेको छ । सबै उमेर समुहका दर्शक श्रोताको मन तान्न सफल बैगुनी गीतका संगीतकार तथा लेखक बादल घिमिरे अहिले पुनः बैगुनी भाग २ ‘शीतल छायाँलाई’ भन्ने गीत बजारमा लिएर आउँदै छन् । बैगुनी गीतको अपार सफलता पश्चात संगीतकार घिमिरेले बैगुनी भाग २ ‘शीतल छायाँलाई’ भन्ने गीत बजारमा ल्याउन लागेको बताए ।

‘भेट्न आउँछु भनेकै दिन भयौ तिमी सम्पर्कबिहीन
रेलले तान्यो र ? बैगुनी छौ भन्ने कसले जान्यो र ?’
यो गीत सायद नसुन्ने कमै होलान् । निकै मिठा शब्दलाई समेटेर बैगुनी गीत संगीतकार तथा लेखक घिमिरेले केही समय अगाडी बजारमा ल्याउनुभएको थियो । बैगुनी गीतको अपार सफलताले आफूलाई पुनः बैगुनी भाग २ बजारमा ल्याउन उत्प्रेरणा मिलेको उनको भनाई छ ।

“बैगुनी गीत दर्शक श्रोताले असाँध्यै मन पराइदिनुभयो, त्यसैको सफलताले बैगुनी भाग २ बजारमा ल्याउने तयारी गरेको छु, छिट्टै नै दर्शक श्रोताले नयाँपनको गीत सुन्न र हेर्न पाउनुहुनेछ” घिमिरेले भने ।

घिमिरेले आफ्नै शब्द र संगीतमा मेलिना राई र डा. बुद्धिमान श्रेष्ठको स्वरमा बैगुनी गीत बजारमा ल्याएका हुन् । बैगुनी भाग—२ ‘शीतल छायाँलाई’ भन्ने गीत पनि मेलिना राई र डा. बुद्धिमान श्रेष्ठको स्वर, बादल घिमिरेकै शब्द र संगीतमा रेकर्ड भइसकेको छ ।

नेपाली संगीत क्षेत्रमा मौलिक सेन्टिमेन्टल लोकगीत नचलेको लामो समय भएको थियो । बैगुनी गीतको आगमनले दर्शक श्रोतालाई तताएको छ । बैगुनी गीत अहिलेसम्म युट्युबमा ५७ लाख हेरिसकिएको छ भने सामाजिक संजालमा धेरैले टिकटक बनाएर पोष्ट गरिएको पाइन्छ ।

बैगुनी (भाग १) मा निकेश खड्काको निर्देशनमा अभिनेत्री केकी अधिकारी र अभिनेता सागर लम्साल ‘बले’ले म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ भने बजारमा आउने तयारीमा रहेको बैगुनी भाग २ मा भने निर्देशक र अभिनेत्री परिवर्तन हुने भएको छ ।

बैगुनी भाग २ मा पनि बैगुनी (भाग १) मा जस्तै साँचो प्रेममा बिछडिएका प्रेमी प्रेमिकाको कथा रहेको संगीतकार तथा निर्माता घिमिरेले बताए । बैगुनी भाग २ गीत अघिल्लो गीतमा जस्तै दर्शक श्रोताको मन जित्ने खालको बनाएको घिमिरे बताउछन् । उनको यो भन्दा अगाडी ‘बादल’, ‘पानी पानी’ र ‘पागलखाना’ जस्ता एल्बम बजारमा आइसकेको छ ।

‘बैगुनी’ भाग २ गीतको अंश

‘तिम्रो यादमा तड्पदै थिएँ,
एकै छिन त सास फेर्नै बिर्सिएँ
शीतल छायाँलाई .. भुल्न कहाँ सक्छु र बैगुनी हितको मायालाई ।’
स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा जन्मनुभएका संगीतकार घिमिरेले बजारमा ल्याएका गीतहरु धेरै दर्शकको रोजाईमा पर्ने गरेको छ । करिव एक दशक देखि घिमिरे सांगीतिक क्षेत्रमा रहेर काम गर्दै आएका छन् ।

SHARE