तम्घासबाटै कर बुझाउन पाँउदा समय र पैसा दुबैको बचत

0
438

साउन १७,२०७७ गुल्मी : गुल्मी जिल्लाका सेवाग्राहीहरुलाई कर बुझाउनका लागि पाल्पा जानु पर्दा समय र पैसा दुबै खर्चिनु परेको थियो । हालआएर गुल्मीको सदरमुकाम तम्घासबाटै सेवा लिन पाउँदा समय र पैसा दुबैको बचत भएको कालीगण्डकी गाउँपालिका वडा न १ हर्मिचौरका दशरथ पाण्डेले बताए ।
यस्तै मदाने गाउँपालिकाका रमेश बिश्वकर्माले गुल्मीको सदरमुकाम तम्घासमै कर बुझाउन पाउँदा बर्षातको समयमा निकै सहज भएको बताए । उनले लामो दुरीका सवारी साधनहरु नचलेको समयमा समस्या हुने र समयमै कर नबुझाउदा जरिवानामा पर्ने डर त्रास सबैको अन्य भएको बताए ।
यस अगाडी गुल्मीका सेवाग्राहीहरु कर बुझाउनका लागि पाल्पा जानुपर्दथ्यो भने त्यो अबस्थाको अब अन्त्य भएको र तम्घासमै सेवा लिन पाँउदा समय र पैसा दुबैको बचत भएको गुल्मी चेम्बर अफ कमर्शका महासचिब कृष्णप्रसाद भण्डारीले बताए ।
यता करदाता सेवा कार्यलय गुल्मीका कर अधिकृत बिनोद कुमार माझीले बुधबार देखि कार्यालयबाट हुने सबै कामहरु भएको जानकारी दिए ।
सेवा ग्राहीहरुलाई सेवा दिनका लागि कार्यालय स्थापना भएकाले सहज रुपमा सेवा प्रबाह गर्ने कार्यालयको उद्येश्य रहेको उनले बताए । तत्काललाई कर्मचारीको अभाब भएतापनि सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिने गरी आफू लागेको उनले दाबी गरे ।
२०७६ साल पुस २१ गते नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार कार्यालय स्थापना भई सेवा प्रबाह गरेको माझीले जानकारी दिए ।

SHARE