सुशीला रेग्मी
साउन १५,२०७७ पाल्पा : पाल्पाको रामपुर नगरपालिका ६ स्थित तिलकपुर नवदुर्गा मावि नजिकै वर्षाले एक घर भत्किएको हो । लगातारको वर्षाले जमिन गलेपछि तिलीसरा सूर्यवंशीको दुईतले कच्ची घर मंगलवार राती भत्किएर पूर्ण रुपमा क्षति भएको हो ।
घर भत्किएपछि पिडित दुई जना (आमा र छोरी) को परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेको वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार करिव पाँच लाख बराबरको क्षति पुगेको छ ।
पीडित परिवारलाई वडा तथा नगरपालिका कार्यालयबाट सक्दो सहयोग गर्ने न्यौपानेले बताए । घरको केही भाग यसअघि नै पनि पानी परेपछि भत्किएको र पुनः गएरातीको वर्षाले पूर्ण रुपमा क्षति पु¥याएको छ ।
घर भत्किएपछि प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य युवराज खनालले बुधवार अनुगमन गरेका छन् । पीडित परिवारलाई सहयोगका लागि आफूले पहल गर्ने प्रदेश सभा सदस्य खनालले बताए । वर्षायामका बेला बाढी पहिरोको जोखिम बढ्ने हुदा जोखिमयुक्त घर तथा ठाउँमा बसोबास गर्नेले सजगता अपनाउन उनले सबैमा आग्रह गरे ।