पाल्पामा कृषि यान्त्रिकरणको प्रयोग बढ्दो, मजदुर बिस्थापित

0
1059

सुशीला रेग्मी

रामपुर (पाल्पा), २६ असार : निस्दी गाउँपालिका ४ मित्यालका कृषक खमबहादुर सारु आफ्ना खेतबारीमा गोरु बाहेक अन्य यन्त्रबाट खेतपाती लगाउँला भन्ने सपना देख्थे । गोरुले नै जोतेर खेतपाती लगाउने सारु अहिले खेतबारीमा आफैले हाते ट्याक्टर चलाएर खनजोत गर्न पाउँदा दङ्ग छन् ।

दिनभर गोरुले जोत्न लाग्ने समय हाते ट्याक्टरको प्रयोग गर्न थालेपछि दुई तीन घण्टामा नै काम सकिने गरेको सारुले बताए । उनले दुई वर्ष अघि गाउँपालिकाले हाते ट्याक्टर अनुदानमा उपलब्ध गराएपछि खेतबारी खनजोत गर्न सजिलो भएको बताए ।

“दुई वर्ष अगाडी सम्म गोरुले नै जोतेर जीविका चलाइन्थ्यो, अहिले आफैले हाते ट्याक्टर खेतबारी खनजोत गर्न थालेपछि कम समयमा धेरै काम, खर्च पनि कम भएको छ” सारुले भने । वर्षायाममा धान रोपाईका लागी उनले खेत जोत्न एक हल गोरुलाई रु एक हजार ज्याला बुझानुपथ्र्यो ।

हाते ट्याक्टरले खेतबारी खनजोत गर्दा डल्ला फोर्न, छेउ कुना खन्ने झण्झट हटेको निस्दी २ भाङ्गबारीका कृषक यमबहादुर मश्राङ्गी बताउँछन् । हाते ट्याक्टर गाउँपालिकाले सहयोग गरेपछि बाँझिएका जग्गामा तरकारी लगाएर हराभरा पार्ने गरेको उनी बताउँछन् ।

समयमा नै गोरु नपाइने समस्या अर्कोतर्फ मेहनत धेरै पर्ने हुदा कृषि यान्त्रिकरणको प्रयोगमा कृषकको आकर्षण बढ्दो छ । कृषि ज्ञानकेन्द्र पाल्पा तथा स्थानीय निकायले कृषकलाई कृषि उत्पादन बृद्धि गराउन अनुदानमा यान्त्रिकरण वितरण गर्ने कार्यक्रम ल्याएपछि कृषकहरु आधुनिक प्रबिधिको अवलम्बतर्फ आकर्षित हुदै गएका हुन् ।

कृषि ज्ञानकेन्द्र पाल्पाले यस आर्थिक वर्षमा बगनासकाली गाउँपालिका २ पोखराथोकमा करिव दुई हजार रोपनी क्षेत्रफलमा मकै वीउ उत्पादक ब्लक कार्यक्रम संचालन गरेको छ ।

यहाँका दुई सय ४३ घरधुरीका कृषकलाई प्रदेश सरकार र कृषि ज्ञानकेन्द्रको ५० प्रतिशत अनुदानमा मकै वीउ उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, ब्लक क्षेत्रका कृषि यान्त्रिकरण प्रवद्र्धन र वीउ व्यवसायीकरणका लागि सहयोग गरिएको छ ।

खेतबारी खनजोत गर्न छ थान हाते ट्याक्टर, १८ थान हातले मकै छोडाउने मेसिन, एक वटा मकै छोडाउने विद्युतीय मेसिन, एक सय थान हाते कोदालो, दश थान कम्बाइन मिल, २९ थान स्प्रे, १८ थान डिजिटल तराजु, एक सय थान सिडबिन, ५०÷५० थान सानो हसिँया र ठुलो हसिँया वितरण गरिएको कृषि ज्ञानकेन्द्र पाल्पाका बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार निस्दी गाउँपालिका ४ स्थित धाक्रेदमार मकै पकेट क्षेत्रमा १७ थान हाते ट्याक्टर, एक थान कम्बाइन मिल, दुई थान विद्युत्तीय मकै छोडाउने मेसिन, ५२ थान कोदालो वितरण गरिएको छ । दुई सय ७४ रोपनी क्षेत्रफलमा संचालित यस मकै ब्लक कार्यक्रममा २६ धरधुरीका कृषक छन् ।

झ्याङ्गला स्मार्ट कृषि गाउँ कार्यान्वयन समिति तिनाउ गाउँपालिका २ मा यस आर्थिक वर्षमा प्रदेश सरकारको ६० प्रतिशत अनुदान सहयोगमा तीन थान हाते ट्याक्टर, एक थान कम्बाइन मिल वितरण गरिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत रामपुर नगरपालिका ४ स्थित तल्लो वडभान चैते धान पकेट क्षेत्रका कृषकलाई उत्पादन बृद्धि गर्न विभिन्न कृषि यान्त्रिकरण तथा औजार वितरण गरिएको छ । चक्लाबन्दी सहितको सिंचाईको राम्रो सुबिधा रहेको यस क्षेत्रमा हाल दुई सय दुई रोपनी क्षेत्रफलमा चैते धान खेतीका लागि पकेट कार्यक्रम सुरु भएको छ ।

जसअन्र्तगत २८ घरधुरीका कृषकले चैते धान खेती गरेका छन् । पकेट क्षेत्रका कृषकलाई चार वटा हाते ट्याक्टर, दुईवटा पावर टिलर, दुईवटा रोटाभेटर, चार वटा धान काट्ने मेशिन, बेल्चा, गैटी, धान काट्ने दतियाँ, मल वीउ विजन लगायतका सामग्री कृषि ज्ञानकेन्द्रले सहयोग गरेको जनाएको छ ।

गत आर्थिक वर्ष २०७५÷०७६ मा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञानकेन्द्र पाल्पाको सहजिकरणमा कृषक, समुह, सहकारीलाई ७५ प्रतिशत अनुदानमा दुई सय चार वटा हाते ट्याक्टर वितरण गरिएको थियो ।

रामपुर नगरपालिका क्षेत्रमा खेतबारी खनजोत गर्न दुई सयको हाराहारीमा पावर टिलर तथा हाते ट्याक्टर कृषकले प्रयोग गर्ने गरेको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउँछन् । यो वर्ष कृषकको माग नआएकाले कृषि यान्त्रिकरण बाहेक युवा स्वरोजगार, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने जस्ता कार्यक्रम संचालन गरिएको शाखा प्रमुख पाण्डेयको भनाई छ ।

जिल्लामा खेतबारी खनजोत गर्न, तरकारी लगाउन, बालीनाली नियमित गोडमेल गर्न सजिलो हुने भएपछि कृषि यान्त्रिकरणको प्रयोग बढ्दो छ । सानो क्षेत्र, करेसाबारी, माथिल्लो बारीखण्डमा हाते ट्याक्टरको प्रयोग गर्ने गरिन्छ भने समथर भु भागमा पावर टिलरको प्रयोग गरिन्छ ।

लागत कम लाग्ने, कृषक आफैले चलाउन सक्ने, व्यवसायिकरण र आधुनिकिकरणमा सहयोग, बाटोको निकास नभएको ठाउँमा पनि हाते ट्याक्टर लैजान सकिने हुदा जिल्लामा कृषि यान्त्रिकरणको प्रयोग बढ्दो रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन ।

बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा छ थान हाते ट्याक्टर, तीन थान बेसार पिस्ने मेसिन वितरण गरेको छ । जसअन्र्तगत गाउँपालिकाको रु दुई लाख र कृषकको रु दुई लाख गरी चार लाखको वजेटमा सो यान्त्रिकरण कृषकलाई उपलब्ध गराइएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउँछन् ।

गतवर्ष प्रदेश सरकारको सहयोगमा यहाँ ६० वटा हाते ट्याक्टर वितरण गरिएको थियो । गाउँपालिकामा हाल करिव दुई सय कृषि यान्त्रिकरण संचालित छन् । गाउँपालिकाको वडा नं १ को कार्यालयले रु एक लाख ५० हजारको वजेटमा सिडबिन, सिकेचर, स्प्रे र वडा नं ६ मा यान्त्रिकरण अन्र्तगत स्पे्र र सिकेचर कृषकलाई वितरण गरेको छ ।

निस्दी गाउँपालिकाले आधुनिक प्रबिधिबाट खेती गर्न कृषकलाई यान्त्रिकरण वितरणमा जोड दिएको छ । यो वर्ष गाउँपालिकाको सहयोगमा ११ वटा हाते ट्याक्टर, दुई वटा ठुलो ट्याक्टरबाट चल्ने थ्रेसर मेसिन वितरण गरिएको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउँछन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत धाक्रेदमार मकै पकेट क्षेत्रका कृषकले १७ वटा हाते ट्याक्टर पाएका छन् । गाउँपालिका भित्र करिव एक सय ३६ वटा आधुनिक कृषि यान्त्रिकरण परिचालित छन् । गाउँपालिकाको धेरैजसो भु भाग डाँडाभेग रहेकाले ठुला ट्याक्टर जान नसक्ने ठाउँमा हाते ट्याक्टरको राम्रो उपभोग भएको कृषि शाखा प्रमुख कोइरालाले जानकारी दिए ।

कृषि यान्त्रिकरणले मजदुर बिस्थापित

पछिल्ला समय गाउँ गाउँमा कृषि यान्त्रिकरणको प्रयोग बढ्दै जान थालेपछि दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर मर्कामा परेका छन् । गोरु पालेर वर्षदिन परिवार धान्ने रामपुर नगरपालिका ५ बहखोलाका धनबहादुर श्रेष्ठलाई अहिले कृषि यान्त्रिकरणको प्रयोगले समस्या परेको छ ।

उनी भन्छन, “एक हल गोरुले रोपाईमा हिलो गरेबापत दैनिक रु एक कमाई ज्यालादारी बुझ्न पाइन्थ्यो, सबैका खेतमा ट्याक्टर लगाउन थालेपछि काम कमै मात्रामा पाइने गरेको छ” । उनले असार र साउन महिनाभर धान रोप्ने खेतमा गोरुले जोतेर राम्रै कमाई गर्थे । बिगत पाँच सात वर्ष यता भने रोजीरोटी खोसिदै गएको गुनासो गर्छन् ।

SHARE