रामपुरमा आइसलेशन कक्ष तयार हुदै, सङ्क्रमित क्वारेन्टिनमै

0
618

सुशीला रेग्मी

रामपुर (पाल्पा), २४ जेठ  :  पाल्पाको रामपुर नगरपालिकामा आइसलेशन कक्ष तयार हुदैछ ।
रामपुर नगरपालिका र निस्दी गाउँपालिकाको समन्वयमा ५० शैयाको शहीद बहुमुखी क्याम्पसमा आइसोलेशन कक्ष तयार पार्ने कार्य भइरहेको छ । आइसलेशन कक्ष तयार नहुुँदा चार दिन देखि कोरना सङ्क्रमित क्वारेन्टिनमै बसीरहेका छन् ।

यही जेठ २० गते दुई जना पुरुषमा कोरना भाइरस सङ्क्रमणको नतिजा पोजेटिभ आएपछि आइसलेशन कक्ष तयार पार्ने कार्य अगाडी बढाइएको हो । यहाँ आइसोलेशन कक्ष तयार गर्ने कार्य पुरा नभएकाले दुई जना सङ्क्रमित रामपुर नगरपालिका ४ स्थित सीताराम माविको क्वारेन्टिन कक्षमा नै बसेका छन् ।

हाललाई २५ शैयाको आइसोलेशन कक्ष तयार भइसकेको र सङ्क्रमितलाई आज साँझ सम्ममा ल्याएर राख्ने तयारी भइरहेको नगर प्रमुख रमणबहादुर थापाुले बताए ।

“सबै प्रक्रिया बमोजिम निर्माण गर्न खोजेकाले अलि ढिला भयो, क्वारेन्टिनमा पनि उनीहरुलाई सुरक्षित साथ छुट्टै बसोबासको व्यवस्था गरिएको छ” उनले भने । नगर प्रमुख थापाका अनुसार सात जना नेपाली सेना, दुई जना नर्स, एक जना डाक्टर, खाना बनाउने, सरसफाई गर्ने लगायत गरी २० जना जनशक्ति परिचालन गरिनेछ ।

अहिले यहाँ शौचालय, बाथरुम, बारबन्देज, सरसफाईको काम सबै तयार भइसकेको छ भने सिसि क्यामेरा र बिद्युत् जडानको काम हुदैछ । क्वारेन्टिनमा बसेका सङ्क्रमित व्यक्तिको अवस्था सामान्य रहेको र उनीहरुलाई छुट्टै बसोबासको व्यवस्था गरिएको वडा अध्यक्ष एकबहादुर नेपालीले बताए । यहाँको क्वारेन्टाइनमा सङ्क्रमित युवा संगै १३ जना रहेका छन् ।


भारतबाट आएका उनीहरुमा आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि एक हप्तापछि पिसिआर परीक्षण गर्दा कोरना सङ्क्रमण पुष्टि भएको हो । रामपुर नगरपालिका वडा नं ९ घर भएका २३ र २८ वर्षका युवामा कोरना पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुंगानाले जानकारी दिए ।

SHARE