रामपुर बेझाड बजारमा पक्की नाली धमाधम निर्माण हुँदै

0
1252

सुशीला रेग्मी

जेठ २३, रामपुर (पाल्पा) : पाल्पाको रामपुर नगरपालिका ५ स्थित बेझाड बजार क्षेत्रभित्र पक्की नाली निर्माण तथा सडक कालोपत्रे मर्मत कार्य धमाधम भइरहेको छ ।
बन्दाबन्दीका बाबजुद पनि स्थानीय युवा परिचालन गरी काम गरिएको छ । बेझाड बजार क्षेत्रमा करिव सात सय १८ मिटर पक्की नाली निर्माण हुदैछ । जसमध्ये रामपुर वचत तथा ऋण सहकारीको नवनिर्मित भवन देखि गणेशमान स्मृति प्रतिष्ठान सम्म चार सय ३१ मिटर, नहर अफिस लाइनमा एक सय १० मिटर, कामना सेवा विकास बैंक अगाडी एक सय ५५ मिटर, सोही बैंकको अगाडी १२ मिटरको कल्भर्ट, १० मिटरको हेमपाइप राख्ने काम भइरहेको छ ।

नहर अफिस सडकखण्ड अन्र्तगत ३० मिटर सडक कालोपत्रे, कामना सेवा विकास बैंक अगाडी ८० मिटर सडक कालोपत्रे गर्ने योजना अनुरुप निर्माण कार्य धमाधम भइरहेको उपभोक्ता समितिका सचिव अशोक श्रेष्ठले जानकारी दिए ।
गत जेठ १३ गते देखि सुरु गरिएको काम असार ८ गते भित्र सम्पन्न गर्ने योजना अनुसार नै निर्माण तथा मर्मत कार्यलाई तीव्र गतिमा अगाडी बढाइएको श्रेष्ठ बताउँछन् ।

“अन्तिम समयमा योजना सम्झौता गरेर काम अगाडी बढाएका छौँ, तोकिएकै समयमा गुणस्तरिय काम सम्पन्न गर्ने गरी स्थानीय युवालाई परिचालन गरेका छौँ” सचिव श्रेष्ठले जानकारी दिए ।

यहाँ अहिले बन्दाबन्दीका समयमा अन्यत्र क्षेत्रमा काम बन्द भएर घरमै बेरोजगार बसेका स्थानीय एक सय युवालाई दैनिक खटाइएको छ । हालसम्म करिव ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । सडक रोड बोर्ड नेपालको ७० प्रतिशत सहयोग रु ५० लाखमा कन्टलजेन्सी कटाएर रु ४८ लाख ५६ हजार एक सय १९ र स्थानीय सरकार रामपुर नगरपालिका र जनसहभागीता गरी ३० प्रतिशत सहयोगमा काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष गोविन्द अर्यालले जानकारी दिए ।

रामपुर नगरपालिकालाई ढलरहितको नगर बनाउने सङ्कल्पका साथ नगरको ठुलो बजार क्षेत्र बेझाड बजारमा पक्की नाली निर्माणमा जोड दिएर काम गरिएको रामपुर नगरपालिका वडा नं ५ का वडा सदस्य विष्णुप्रसाद बस्याले बताए ।

“हामीलाई अन्तिम समयमा आएर योजन प्राप्त भयो, उपभोक्ता समिति निरन्तर खटेर कामलाई राम्रो गरी निर्माण कार्यमा लाग्नु भएको छ, कोहरनाका कहरले बेरोजगार भएर बसेका युवालाई पनि काम गर्ने अवसर सिर्जना भएको छ” वडा सदस्य बस्यालले भन्नुभयो । सो योजनाको नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीले समय समयमा अनुगमन गरिरहेका छन् । काम सोँचेभन्दा राम्रो र छिटो संचालन भइरहेको रामपुर नगरपालिका ५ का वडा सदस्य काशिनाथ रेग्मी बताउँछन् ।

कोरना भाइरस सङ्क्रमणबाट बच्न लकडाउन जारी भएपछि घरमै काम नपाएर बस्नुभएका युवा वसन्त खवास यहाँ काम गर्ने अवसर पाउँदा खुशी छन् । कोरनाको विषम परिस्थितीमा काम नपाएर बसेका युवालाई यसरी विभिन्न योजना संचालन गरी स्थानीय सरकारले काम दिएमा फुर्सदको समय सदुपयोग संगै कमाई गर्ने माध्यम बन्ने युवा सागर रेग्मी बताउँछन्। “सरकारले दैनिक ज्यालादारी मजदुरी गर्नेलाई राहत उपलब्ध गराउनुभन्दा सकेसम्म हामी जस्ता युवालाई विभिन्न योजना संचालन गरी काम दिनु राम्रो हो” उनको भनाई ।

वैदेशिक रोजगारबाट फर्केर गाउँमै विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका गंगाबहादुर नेपाली नाली बनाउने तथा कालोपत्रे सडक मर्मतमा आफूले सहभागी भएर काम गर्न पाउँदा आनन्द लागेको बताउँछन् ।

दुई वर्ष अघि रामपुर बेझाड बजार क्षेत्रमा एक सय ६३ मिटर पक्की नाली निर्माण काम भइसकेको छ । मनदनआश्रित भवन अगाडी मुख्य नाली, स्याल्याप सहितको काम गरिएको छ । सो योजनाका लागि रामपुर नगरपालिकाले रु ५० लाख वजेट उपलब्ध गराएको थियो ।


त्यस्तैगरी बेझाड बजारकै राधाकृष्ण मन्दिरको उत्तर क्षेत्रमा पनि प्रदेश सरकारको रु ५० लाख सहयोगमा पक्की नाली निर्माणको काम भइरहेको छ ।

SHARE