गुणस्तरहिन चामल बेचेको आरोपमा नवलपरासीको राइस मिलविरुद्ध मुद्दा

0
640

बैशाख १५, २०७७ रुपन्देही  : राहत वापतको खाद्यान्न गुणस्तरहीन चामल विक्री वितरण भएको जनगुनासोलाई लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले कारवाही सुरु गरेको छ।

छड्के जाँच गर्दा उल्लेख गरे भन्दा न्यून गुणस्तरको चामल पाइएपछि जिल्लाको राजेश राइस मिलविरुद्ध मुद्दा दायर गरिएको पनि सो कार्यालयले जनाएको छ। चैत २९ गते कार्यालयलाई राहतमा वितरण गरिएको खाद्यान्नबारे आवश्यक छानबिन गर्न नगरबासीले आग्रह गरेका थिए। कार्यालयबाट खटिएका खाद्यनिरीक्षक पदमराज भुसालको टोलीले नगरपालिकाको परिसरमा वितरणका लागि राखिएको उक्त मिलले उत्पादन गरेको चामलको नमुना संकलन गरी कार्यालयको प्रयोगशालामा परीक्षण गरेको थियो।

परीक्षणपश्चात् उक्त चामल तोकिएभन्दा कम मापदण्डको पाइएको र राइस मिलका सञ्चालक पटवारी बनियाँले आफूले उक्त चामल नगरपालिकालाई बिक्री गरेको स्वीकार गरेको बताइएको छ। राइस मिल र सञ्चालक बनियाँविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा चलाइएको कार्यालयले जनाएको छ।

खाद्य ऐन २०२३ बमोजिम जिल्ला प्रशासन कार्यालय रुपन्देही र नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। निज उपर अधिकतम ५० हजार रुपैयाँ जरिवाना र पाँचबर्ष सम्म कैद हुन सक्ने कानुनी प्रावधान छ । उत्पादक विरुद्ध खाद्य उद्योगको अनुज्ञापनपत्र नलिई उत्पादन गरेकोमा समेत मुद्दा दायर गरिएको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

SHARE