आँखा शिविर कार्यक्रम प्रभावकारी

0
460

सुशीला रेग्मी

रामपुर ५ फागुन : ग्रामीण भेगमा बसोबास गर्ने नागरिकलाई सामान्य आँखा जाँच गर्ने सेवा सुबिधा नहुदा सास्ती खेप्न बाध्य छन् ।

आँखामा समस्या आएपनि कतिपयले त अन्यत्र अस्पतालमा जान झण्झट, आर्थिक समस्याले रोगसंग लडिरहन्छन् । कमैले मात्र आँखा जाँच तथा उपचारमा ध्यान दिने गरेको पाइन्छ ।

पाल्पाको रम्भा गाउँपालिका वडा नं ५ बस्ने ६५ वर्षीय हुमबहादुर श्रेष्ठले आँखामा समस्या थाहा हुदा हुदैपनि अस्पताल आउन जानको समस्या, आर्थिक अभावले समस्या संग जुधिरहनुभएको थियो ।

गाउँका नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था रामपुरले गाउँ गाउँमा आँखा शिविर संचालन गरी सेवा दिएपछि खुशी हुनुभएको छ ।

उहाँलाई आँखा जाँच गर्न एक दिनको समय बिताएर रामपुर नगरपालिका, सदरमुकाम तानसेन, भैरहवा लगायतका स्थानमा जानुपर्ने बाध्यता थियो ।

“अन्धुकारमुक्ति साकोसले गाउँमै आएर आँखा शिविर आयोजना गरी उपचार सेवा, औषधी, चश्मा उपलब्ध गराएपछि हामीजस्ता नागरिकलाई धेरै सजिलो भएको छ, अन्धकारमुक्ति साकोसले नागरिकलाई अन्धकारबाट मुक्त बनाएको छ” उहाँले खुशी हुदै भन्नुभयो ।

रामपुर नगरपालिकाको केन्द्र देखि टाढा रहेको वडा नं ९ लाम्दीखोला बस्ने गिता अर्यालले गाउँमा आएर आँखा शिविर आयोजना गरी सहकारीले सेवा दिएपछि गरिव विपन्न अशक्त बालबालिकालाई ठुलो राहत मिलेको बताउनुभयो ।

“गाउँमा धेरैजसो न्युन आयस्तर भएका नागरिक, गरिव, विपन्नको बसोबास हुन्छ, उनीहरुलाई स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसंग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ” अर्यालले भन्नुभयो ।

आँखा पोल्नी, चिलाउने, अक्षर पहिल्याउन नसक्ने समस्या संग जुधिरहनुभएकी लाम्दीखोलाकै मेनुकादेवी अर्याल सहकारीले गाउँमा आएर आँखा जाँच गराउने सुबिधा दिएपछि उहाँको रोग निको हुदै गएको छ ।

आर्थिक कारोबार संग संगै सहकारीले सदस्य तथा नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न स्थानमा पालिकाहरु संग समन्वय गरी आँखा शिविर गर्ने गरेको छ ।

सहकारीले वर्षेनी वजेट विनियोजन गरी आँखा शिविर कार्यक्रम गर्न थालेको व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेल बताउनुहुन्छ ।

बित्तिय कारोबार मात्र नभई सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई पनि जोड दिन थालेको छ । यस कार्यक्रमलाई निरन्तर रुपमा संचालन गरी नागरिकलाई सेवा दिने अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।

सहकारीले पाल्पाको निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका र रामपुर नगरपालिकाका विभिन्न दुर्गम वस्तीमा पुगेर निशुल्क आँखा जाँच शिविर गर्दै आइरहेको छ ।

सहकारीले बित्तिय कारोबारलाई मात्र नभई नागरिकलाई स्वास्थ्य सेवाबाट वन्चित हुन नपरोस् भन्ने मनसायले थालनी गरेको यो कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमबाट दुर्गम गाउँमा बसोबास गर्ने नागरिकहरुले राम्रो राहत पाएको महसुस गरेका छन् ।

SHARE