आलु खेतीले पर्यटक लोभ्याउँदै

0
716

सुशीला रेग्मी

रामपुर (पाल्पा), २७ माघ : रामपुर नगरपालिकालाई आलुबाट आत्मनिर्भर बनाउन समुहमार्फत लगाइएको आलु खेतीले पर्यटक लोभ्याएको छ । एक वडा एक उत्पादन कार्यक्रममार्फत वडा नं ६ लाई आलु पकेट क्षेत्रका रुपमा छुट्टाएर आलु खेतीमा जोड दिइएको छ ।

यहाँ समुहमार्फत लगाइएको आलु खेती अहिले आन्तरिक पर्यटकको रोजाई बनेको छ । अहिले रामपुर आउने आन्तरिक पर्यटक आलु खेती अवलोकन गरेर मात्र फर्कने गरेका छन् ।

यहाँको आलु खेतीले चर्चा पाउन थालेपछि स्याङ्गजा, तनहुँ, नवलपुर लगायतका विभिन्न स्थानबाट आलु हेर्न आउने आन्तरिक पर्यटकको चहलपहल रहेको नदी किनारा आयआर्जन कृषक समुहका सचिव सीता देवकोटा बताउनुहुन्छ ।

“दिनहुँ विभिन्न संघ संस्था, समुह, व्यक्ति आलु अवलोकन गर्न आइरहनुभएको छ, आलु खेतमा पर्यटकको चहलपहल छ, समुहका एक दुइ जना सदस्यहरु खेतमै बसेर पर्यटकलाई आलु खेतीबारे जानकारी गराइरहेका छौँ” उहाँले भन्नुभयो ।

नदी किनारा आयआर्जन महिला कृषक समुहले यसवर्ष नौ रोपनीमा पाँच क्विण्टल आलु लगाएको छ । गतवर्ष सात रोपनीमा लगाएको आलुले राम्रो उत्पादन भएपछि यो वर्ष व्यवसाय बढाएको अध्यक्ष भगवति देवकोटा बताउनुहुन्छ ।

वडा कार्यालयको वीउ अनुदान र विजयपुर कृषि सहकारीको समन्वयमा यहाँका कृषकले आलु लगाएका हुन् । आलु लगाउने प्रबिधि सम्बन्धी खेतमै प्राबिधिक सुबिधा पाएपछि आलु फस्टाउँदै गएको छ ।

कृषकलाई खेतबारीमै पुगेर आलु लगाउने, गोडमेल, मलवीउको प्रयोग सिंचाई गर्ने तरिकाबारे जानकारी दिने गरेको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।

वडा कार्यालयले यसवर्ष आलु महोत्सव गर्न आलु खेतीलाई प्रवद्र्धन गर्दै कृषकको मागको आधारमा एक सय ५० रोपनी क्षेत्रफलमा करिव ६० क्वीण्टल आलुको वीउ अनुदानमा वितरण गरेको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

“रामपुरमा बाहिरबाट आलु दिनानु दिन ठुलो परिमाणमा भित्रने हुदा, अब बाहिरबाट आउने आलु निरुत्साहित गर्दै यहीँको उत्पादनले बजार ढाक्न आलु खेतीमा जोड दिएका छौँ” अध्यक्ष न्यौपानेले भन्नुभयो ।

कृषकले उत्पादन गरेका आलुले बजार नपाएमा शित भण्डारमा राख्ने व्यवस्था वडा कार्यालयले नै गर्ने अध्यक्ष न्यौपानेको भनाई छ ।

रामपुरमा समुहमा लगाइएको आलुले पर्यटक तानिरहेको र कृषकको आलु खेतीमा उत्साह बढ्दै गएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद रेग्मी बताउनुहुन्छ ।

“कृषकलाई आलु बेच्न बजारको समस्या हुन दिदैनौ, उत्पादित आलु सहकारीले खरिद गरी बजारमा लैजाने प्रबन्ध गर्नेछ” अध्यक्ष रेग्मीले भन्नुभयो ।

यसवर्ष वडा कार्यालयको सहयोगमा दश समुह र ६८ जना कृषकले आलु खेती गरेका छन् । उन्नत जातको वीउ, प्राबिधिक सेवा राम्रो पाएपछि सोँचे भन्दा आलु राम्रो हुदै गएको कंडेलबारी कृषक समुहका अध्यक्ष सीता भण्डारीले बताउनुभयो ।

SHARE