फुर्सदिला अभिभावकलाई आयआर्जनमा जोड्दै वडा

0
447

सुशीला रेग्मी

(पाल्पा),फुर्सद कसैलाई आंशिक हुन्छ त कसैलाई पूर्ण । पछिल्ला समयमा विभिन्न संघ संस्थाले सर्वसाधारणको फुर्सदको समयलाई उपयोग गराउने गरी सीपमुलक तालिम दिदै आएको वास्तविकतामा पाल्पाको रामपुर नगरपालिका वडा नं ६ को कार्यालयले आंशिक फुर्सदिला अभिभावकलाई लक्षित गरी सीपमुलक स्वीटर बुन्ने तालिम सुरु गरेको छ ।

वडाभित्र रहेको दरैठाँटी माध्यमिक विद्यालयमा अध्ययनरत साना साना बाललिकाका अभिभावकलाई लक्षित गर्दै तालिम आयोजना गरिएको हो । तालिमबाट दिउँसोको फुर्सदको समय सदुपयोग भएको छ नै त्यसले सीप सिक्दै आयआर्जन तर्फ उन्मुख समेत गराएको छ ।

विद्यालयमा पढ्न जाने बालबालिकालाई दिउँसो खाजा खुवाउन जाने र केही समय बसेर सँगै लिएर आउने अभिभावकका लागि वडा कार्यालयले सञ्चालन गरेको स्वीटर बुन्ने तालिम निकै उपयोगी बनेको स्थानीय शोभा लम्सालले बताउनुभयो ।

बिहान १०.०० बजे स्कुल ल्याएको बच्चालाई दिउँसो १.०० बजे नै खाजा खुवाउन आउने र स्कुल छुट्टि भएपछि सँगै लिएर जाने गरेको विगत सम्झदै लम्सालले यो बीचको फुर्सदको समयलाई तालिममा लगाइदिएर वडाले गुन लगाएको बताउनुभयो ।

खाजा खुवाउन, विद्यालय छोड्न, लिन जाने गर्दैमा अभिभावकको दिन बित्ने गरेको बताउँदै उहाँले वडाले दिएको स्वीटर बुन्ने तालिमले आफुहरूलाई आयआर्जन तर्फ पनि पे्ररित गरेको बताउनुभयो ।

सीपमुलक तालिमका माध्यमबाट खाजा समय पछिको खाली समय सदुपयोग होस् भनेर अभिभावकका लागि स्वीटर बुन्ने तालिम आयोजना गरिएको वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

विद्यालयमा दिनभर अभिभावक बसीरहनुपर्ने बाध्यतासँगै कोही मोबाइलमा व्यस्त, कोही गफगाफमा व्यस्त हुने गरेका कारण उक्त समय सदुपयोग होस् भन्ने उद्देश्यले स्वीटर बुन्ने तालिम दिइएको उहाँले बताउनुभयो ।

“बालबच्चालाई समयमा नै स्कुल पठाउन, लिन जाने, खाजा खुवाउने कार्यले अभिभावकले विभिन्न सीपमुलक तालिममा सहभागी हुने समय पाउँथिएनन्” उहाँले भन्न्ुभयो, “अहिले भने स्कुलहाता भित्रै सीपमुलक तालिम दिन थालेपछि उनीहरूलाई आय आर्जनको विकल्प समेत बनेको छ ।”

तालिममा सहभागी महिलाले उत्साहका साथ सीप सिकिरहेको प्रशिक्षक गंगासरा रानाले बताउनुभयो ।

फुर्सदको समय सुदपयोग सँगै सीप सिक्ने अवसर पाएपछि तालिम पश्चात स्वीटर बुनेर आयआर्जन गर्ने सोच राखेको सहभागी प्रतिमा वाग्लेले बताउनुभयो ।

“दिउँसो काम नभएपछि समय बिताउनै प¥यो, मोबाइल इन्टरनेटमा व्यस्त भइन्थ्यो” उहाँले भन्नुभयो, “अहिले त्यो फुर्सदिलो समय सीपमुलक काममा लगाउन पाइएको छ, हाम्रा लागि यो निकै उपयोगी बनेको छ ।”

यस तालिमले ५० वर्षीय सबिता पाठकलाई पनि उत्साह थपिदिएको छ । उहाँले पनि उमेर ढल्किए पनि हातको सीप सिकेर निरन्तर स्वीेटर बुनेर घरायसी प्रयोजनका लागि मात्र नभै बिक्रि गरी आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।

यो तालिमप्रति प्रभावित भएर अन्य विद्यालयका अभिभावकले पनि तालिम सञ्चालन गर्न सम्बन्धित वडा कार्यालयमा अनुरोध गर्न थालेका छन् ।

वडाले अभिभावकका लागि आयोजना गरेको स्वीटर बुन्ने तालिम अत्यन्त उपयोगी र नमुनायोग्य रहेको र यसैबाट उनीहरुलाई आयआर्जन गर्ने बाटो सिर्जना गरिदिएको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा बताउनुहुन्छ ।

महिलाहरु सीपमुलक स्वीटर बुन्ने तालिम पाएपछि खुशी भएका छन् । यस तालिममा ४० जना अभिभावक सहभागी छन् । दरैठाँटी माविमा सुरु भएको तालिमको अनुभव पश्चात सोही वडाको नवदुर्गा माविमा पनि तालिम सञ्चालन गर्ने वडाले जनाएको छ ।

SHARE