रामपुरमा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण हुने

0
603

—सुशीला रेग्मी

(पाल्पा), पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै सबैभन्दा ठुलो क्षमताको शित भण्डार निर्माण हुने भएको छ ।

रामपुर नगरपालिका भित्र उत्पादन हुने कृषिजन्य उपजलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि शित भण्डार निर्माण गर्न लागिएको हो । कृषि शाखा कार्यालयको परिषरमा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माणका लागि डिपिआरको काम तयार भइसकेको छ ।

गत आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश नम्बर पाँच भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विभिन्न स्थानीय तहलाई प्रस्तावना माग गरे अनुसार रामपुर नगरपालिकाले पनि प्रस्ताव पेश गरेको थियो । सोही अनुरुप छनौट भई नगरपालिका संग सम्झौता भएको हो । नगरपालिकाले आफ्नै लगानीमा डिपिआर तयार पारेको रामपुर नगरपालिकाका सुचना अधिकृत तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।

“सोलार पाताले ढाकेर निर्माण गर्ने गरी पहिला डिपिआर तयार गरियो, विद्युत् लाईनबाटै चलाउन सकिने भएकाले पुनः यस आर्थिक वर्षको पुस महिनामा नगरपालिका आफैले रु चार करोड बराबरको लागतमा निर्माण हुने गरी डिपिआर तयार गर्ने काम सकिइसकेको छ” सुचना अधिकृत पाण्डेयले भन्नुभयो ।

अब टेण्डर आह्वान गरेर निर्माणको प्रक्रिया छिट्टै नै अगाडी बढाउने उहाँको भनाई छ । रामपुर नगरपालिका भित्र उत्पादन भएका कृषि उपजले समयमा बजार नपाउँदा कृषकले निकै सास्ती खेप्दै आइरहेका छन् ।

एकै पटक उत्पादन भएका कृषिजन्य सामग्रीले कहिलेकाँही बजारमा नबिकेर कृषकले खेतबारीमै कुहाउन बाध्य छन् । कृषकको उत्पादनलाई बिग्रन नदिन शित भण्डार निर्माण गर्न लागेको नगर प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ ।

“रामपुरमा गोलभेँडा, काउली, बन्दा, लहरेबाली प्रशस्त उत्पादन हुन्छ, तर उत्पादित कृषि उपजलाई सुरक्षित साथ राख्ने ठाउँको व्यवस्थापन नहुदा कृषकले लागत अनुसारको मुल्य नपाएको अवस्था छ” उहाँले भन्नुभयो ।

यो क्षेत्रमा बढी मात्रामा आलु उत्पादन हुन्छ । सबैजसो कृषकले अनिवार्य आलु लगाएकै हुन्छन् । तर सुरक्षित साथ राख्ने स्थान नहुदा सस्तो मुल्यमा नै आलु बजारमा बिक्रि गर्नु परेको कृषक सीता भण्डारी बताउनुहुन्छ ।

शित भण्डार निर्माण हुने भएपछि कृषि उत्पादनले राम्रो बजार मुल्य पाउने उहाँले आशा गर्नुभएको छ ।

बुटवल, भैरहवा लगायतका बाहिरी शहर बजारबाट रामपुरमा भित्रिएका तरकारी निरुत्साहित गर्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिन शित भण्डार निर्माणको योजना ल्याएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“कृषकको जीवनस्तर माथि उकास्न र उनीहरुले उत्पादन गरेका कृषिजन्य सामग्री नबिग्रियोस र मुल्य पनि राम्रै पाउन, बिचौलियाको चलखेल नहोस भनेर शित भण्डार निर्माणमा जोड दिएका हौँ” नगर प्रमुख थापाले भन्नुभयो ।

रामपुर नगरपालिकाले कृषिबाटै आत्मनिर्भर गराउन र स्थानीय उत्पादनलाई प्राथमिकता दिएर पुस १ गतेबाट बाहिरबाट आउने कृषिजन्य सामग्री निरुत्साहित अभियान चलाएको छ । यस अभियान सफल पार्न युवा स्वरोजगार कार्यक्रम संचालनमा ल्याएको छ ।

युवाहरुलाई लक्षित गरी कृषि तथा पशुपालन व्यवसाय गर्न चाहनेका लागि दुई वर्ष सम्मको व्याज अनुदान उपलब्ध गराउन थालेको छ । जसका लागि नगरपालिकाले ३० जना युवालाई छनौट गरेको छ । रामपुरमा शित भण्डार निर्माण हुने भएपछि यस क्षेत्रका कृषक उत्साहित भएका छन् ।

SHARE