बिपन्न बिधार्थीहरुका लागि गाउँपालिकाको स्विटर

0
751

तिलाचन पाण्डे
पुस २० ,२०७६ गुल्मी :
धुर्कोट गाउँपालिका गुल्मीले आर्थिक अबस्था कमजोर भएका बिधार्थीहरुका लागि न्यानो कपडा स्विटर बितरण गरेको छ । गाउँपालिका भित्र रहेका ४८ वटा सामुदायीक बिधालयका ५११ जना बिपन्न बिधार्थीहरुका लागि न्यानो कपडा स्विटर बितरण गरिएको गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले जानकारी दिए ।
चिसोको मात्रा अधिक बढ्दै गएको समयमा चिसोकै कारणबाट बिभिन्न रोगहरु लाग्न सक्ने र न्यानो कपडा नभएकै कारणले बिधालयमा नियमित बिधार्थीहरु नआउने परिपाटी रहेकाले त्यस्तो अबस्थाको अन्त्य गर्नका लागि गाउँपालिकाको लोगो अंकित स्विटर बितरण गरिएको पोखरेलको दाबी छ ।
घरमा आर्थिक अबस्था कमजोर भएका , बिपन्न परिवारहरु छनोट गरी उनीहरुको साथमा स्थानीय सरकार रहेको अनुभूती दिनका लागि न्यानो कपडा बितरण गरिएको र बिधालयमा बिधार्थीहरुको नियमित उपस्थितिका लागि यसले ठूलो महत्व राख्ने गाउँपालिकाले दाबी गरेको छ । कुल दुई लाख ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा स्विटर खरिद गरी बिपन्न्न बिधार्थीहरुका लागि बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
यसैबिच तम्घासमा चिसो अत्याधिक बढेकाले स्वास्थ्यको बिशेष ख्याल गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
चिसो बढ्दै गएपछि बालबच्चा र बृद्ध बृद्धाहरुलाई धेरै समस्या हुने र बृद्धहरुमा दमको समस्या र बालबच्चाहरुलाई निमोनिया समेत हुन सक्ने भएकाले झोलिलो संगै तातो तातो खाना खान र न्यानो कपडाहरु लगाउन तम्घास अस्पतालले आग्रह गरेको छ । यदि स्वास्थ्यमा सामान्य समस्या देखा परे नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गराउन तम्घास अस्पतालका डाक्टर उत्तम पच्याले आग्रह गरेका छन् ।

SHARE