गुल्मीमा भ्रमण बर्षको सुरुवात तीन जिल्लाको संगम स्थल रिडीबाट

0
398

पुस १७, २०७६ गुल्मी : ‘नेपाल भ्रमण बर्ष २०२०’ को सुरुवात तीन जिल्लाको संगम स्थल रिडीबाट गरिएको छ । गुल्मी , पाल्पा र स्याङजाको संगम स्थलमा जिल्ला समन्वय समिति गुल्मीको आयोजना तथा रुरुक्षेत्र गाउँपालिकाको सह–आयोजनामा जिल्लाको प्रवेशद्धार रुरुक्षेत्र गाउँपालिकाको रिडीबाट गरिएको होे ।
५ नम्बर प्रदेशका विशेषाधिकार समिति सदस्य कमलराज श्रेष्ठले जिल्लामा भ्रमण बर्षको ए कार्यक्रमका बिच उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले रिडीमा ५५ करोडको लागतमा पर्खाल बनाउने योजना रहेको बताए । त्यसका लागि यो बर्ष नै १६ करोडको कामको टेन्डर हुने उनले दाबी गरे । त्यसका साथै उनले रुरुक्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण गर्ने, जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकिय क्षेत्रहरुको विकास र प्रचार गर्ने पनि सरकारको योजना रहेको सुनाए । ‘जिल्लामा प्रशस्त सम्भावना बोकेका पर्यटकिय स्थल धेरै छन्, तिनलाई पर्यटकको खाँचो छ ।’ उनले भने, ‘यसका लागि सबैको सहकार्य आवश्यक छ ।’
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव विर बहादुर कार्कीले पर्यटन बर्षलाई सफल बनाउनका लागि विभिन्न क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुपर्ने धारणा राखे । नेपाल काङ्ग्रेसका उपसभापति विष्णु बलालले भ्रमण बर्षलाई उत्पादन र जिविकोपार्जनसँग जोड्नुपर्ने बताए । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले पर्यटक पर्वद्धनका लागि विशेष गुरुयोजना बनाउनुपर्ने बताए ।
जिल्लाको रुरु, रेसुगां, विचित्र गुफा, मदाने लेक लगायतका जिल्लाका धार्मिक एवम् पर्यटकिय क्षेत्रहरुको गुरुयोजना बनाउनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले जिल्लामा सूचना केन्द्रको स्थापना, पर्यटकिय स्थलहरुको ब्रोसर र डकुमेन्ट्री निर्माण लगायतका कामहरु जिल्ला समन्वय समितिले अगाडी बढाएको जानकारी दिए । कार्यक्रममा जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरु, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

SHARE