सामूहिक बलात्कारका मुख्य अभियुक्त तीन वर्षपछि पक्राउ

0
348

मंसिर ७, २०७६ कपिलवस्तु . तीन वर्षअघि कपिलवस्तुको मायादेवी गाउँपालिका(१ पकडीमा एक युवतीलाई सामूहिक बलात्कारपछि फरार रहँदै आएका मुख्य अभियुक्तलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पकडीको टोलीले कलामुद्दीन मुसलमानलाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए। विस २०७३ माघ १६ गते कलामुद्दीनसहित पाँचजना युवाले सामूहिक बलात्कार गरी त्यसको भिडियो बनाई सामाजिक संजालमा राखेका थिए। घटनापछि उनी फरार रहँदै आएका थिए। घटनामा पाँचजनालाई अदालतले २०७५ असोजमा जिल्ला न्यायाधीश लोकजंग शाहको ईजलासले दोषी करार गरेको थियो। अदालतले घटनामा संलग्न पाँचजनालाई ११ वर्ष कैद तथा १र१ लाख रुपैयाँ जरिवाना तोकेको थियो। घटनालगत्तै कलामुद्दीनलाई प्रहरीले पक्राउ गरेको थियो। अदालतले पहिलो पटक कलामुद्दीनलाई धरौटीमा रिहा गरेको थियो। पछि आफ्नै फैसलालाई उल्टाउदै पाँचजनालाई नै दोषी ठहर गरेको थियो। धरौटीमा रिहा भएपछि कलामुद्दीन फरार भएका थिए। अदालतले मायादेवी गाउँपालिका पकडी पिर्चुखीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्दीन मुसलमानलाई सामूहिक बलात्कार घटनामा दोषी ठहर गरेको हो। फैसला कार्यान्वयनको लागि प्रहरी तथा कारागारलाई आदेश गइसकेको अदालत प्रशासनले जनाएको छ। भारत घर भई आफ्नो मामा घर पकडी बस्ने वर्ष २० कि युवतीको फुपुको घर बाँसखोर विमिहा जाने क्रममा २०७३ साल माघ १६ गते पिर्चुखीस्थित मर्थी खोला नजिकै नियन्त्रणमा लिई सामूहिक बलात्कार भएको थियो। बलात्कारपश्चात युवतीको नग्न भिडियोसमेत बनाइ सामाजिक संजालमा हालिएको थियो। सोही आधार तथा प्रमाणअनुसार प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गरि मुद्दा दायर गरेको थियो। अझै दुईजना अभियुक्त फरार छन्। उनीहरूको खोजी भइरहको प्रहरीले जनाएको छ। पक्राउ परेको कलामुद्दीनलाई आइतबार अदालत हाजिर गरी कारागार चलान गरिने प्रहरी नायव उपरिक्षक मल्लले बताए।

SHARE